बाँके : नेपालगञ्ज उपमहानगरपालिका-२२ पुरैनी मा अवस्थित कान्ति ताल संरक्षण अभावका कारण दिन प्रतिदिन कुरुप बन्दै गएको छ। पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएका संरचनाहरूको उचित संरक्षण र व्यवस्थापन नहुँदा तालको अवस्था नाजुक बनेको छ।
Advertisement 1
तालको सुरक्षाका लागि निर्माण गरिएका रेलिङहरू चोरी भएका छन्। केही अज्ञात व्यक्तिहरूले पर्खाल भत्काई जे.आई. पाइप काटेर चोरी गरेका छन्, जसले तालको सुन्दरता मात्रै बिगारेको छैन, पर्यटकहरूको सुरक्षामा पनि गम्भीर असर पारेको छ। साथै, ताल वरिपरि मादक पदार्थ तथा धूम्रपानको अत्यधिक प्रयोग भइरहेको छ। मदिराजन्य पदार्थको बोतलहरू, गुटखा तथा सुर्तीका खोलहरू जथाभावी फालिएकाले तालको सौन्दर्यमा ह्रास आएको छ।
Advertisement 2
पर्यटन प्रवर्द्धनका लागि करोडौं लगानी गरी निर्माण गरिएको यो ताल अहिले लागुऔषध दुर्व्यसनीहरूको थलो बन्न पुगेको छ। सुरक्षाको अभावमा बिहान-बेलुका मात्र नभई दिउँसोसमेत पर्यटकहरू जान डराउने अवस्था सिर्जना भएको छ। स्थानीय तहको लापरवाहीले गर्दा यो ताल नेपालगञ्जवासीका लागि गर्वको विषय नभई लज्जाको कारण बन्दै गएको छ।
Advertisement 3
यदि सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने, कान्ति ताल झन् जिर्ण हुँदै जानेछ, अनि यसमा खर्चिएको करोडौं रुपैयाँ व्यर्थ जाने निश्चित छ। नेपालगञ्ज उपमहानगरपालिकाले तत्काल आवश्यक कदम चालेर तालको संरक्षण, सफाइ, र सुरक्षा व्यवस्था कडा गर्नुपर्ने स्थानीय बासिन्दाहरूको माग छ।










प्रतिक्रिया