दाङ : तुलसीपुरमा रहेको एनएमबी बैंकको शाखामा चोरी प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान करिब २ बजे तुलसीपुर-५, क लाइनस्थित बैंकमा चोरी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार तुलसीपुर-१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीले बैंकको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरेका थिए। चोरी प्रयासकै क्रममा उनलाई प्रहरी निरीक्षक खत्रीको टोलीले नियन्त्रणमा लिएको हो।
चौधरीको साथबाट चोरीमा प्रयोग गरिएका हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेडजस्ता सामग्रीहरू बरामद गरिएको छ। साथै, उनी सवार रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।










