सन्देश भुसाल,नेपालगन्ज : नेपाली लोक तथा सुगम संगीतका प्रखर साधक एवं विशिष्ट पहिचान बनाउनुभएका वरिष्ठ गायक, संगीतकार तथा कार्यक्रम प्रस्तोता (VJ) कमल बि.के. ‘निर्मोही’ को निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित निर्मोहीको उपचारका क्रममा शनिबार साँझ ७ बजे आफ्नै निवासमा निधन भएको हो।
Advertisement 1

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई शनिबार नेपालगन्जस्थित भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था थप जटिल बनेपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो। अस्पतालमा उपचार सम्भव नभएपछि शनिबार निवास ल्याइएका उहाँले सोही साँझ अन्तिम सास फेर्नुभएको पारिवारिक स्रोतले जनाएको छ।
Advertisement 2

नेपालगन्जलाई कर्मथलो बनाउनुभएका निर्मोही सुदूरपश्चिम र मध्यपश्चिमको कला, संस्कृति र संगीतलाई मूलधारमा ल्याउन योगदान पुर्याउने एक बहुमुखी प्रतिभा हुनुहुन्थ्यो। रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नुभएका उहाँले नेपाली सुगम संगीत, लोक संगीत र देउडा गायनमा आफ्नो बलियो उपस्थिति जनाउनुभएको थियो।
Advertisement 3
उहाँका ‘सान्नानीको गाजलु आँखा’, ‘झल्को लाग्दो छ’, ‘यस्तै रहेछ संसार’, ‘मर्नु त छँदैछ’, ‘पिरतीको डोरी’, र ‘परदेशीको पीडा’ जस्ता गीतहरू स्रोतामाझ निकै लोकप्रिय छन्।
गायन र संगीतका अतिरिक्त निर्मोही एक उत्कृष्ट उद्घोषक र कार्यक्रम प्रस्तोता पनि हुनुहुन्थ्यो। पश्चिम नेपालमा हुने मेला-महोत्सवहरूमा उहाँको बुलन्द आवाज र सन्चालन शैलीको छुट्टै प्रभाव रहने गर्थ्यो। उहाँले स्थानीय ओझेलमा परेका भाकाहरूलाई संकलन गरी रेकर्डिङसम्म पुर्याउन र नयाँ पुस्तालाई सांगीतिक प्लेटफर्म दिन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो।
निर्मोहीको निधनले सांगीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँको निधनको खबरले नेपालगन्ज र समग्र पश्चिम नेपालका कलाकार तथा शुभचिन्तकहरू मर्माहत भएका छन्। विभिन्न सांगीतिक संघ-संस्था र कलाकारहरूले सामाजिक सञ्जालमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।









प्रतिक्रिया