नेपालगञ्ज, माघ ८ : नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १० गतेदेखि नेपालगञ्जमा प्रादेशिक महोत्सव २०८१ आयोजना हुने भएको छ। “उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन” भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको छ।
Advertisement 1
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले विगत साढे दुई दशकदेखि क्षेत्रीय आर्थिक गतिविधिलाई सबल बनाउन मेला, प्रदर्शनी र महोत्सव आयोजना गर्दै आएको छ। यस वर्षको महोत्सवले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खाद्यवस्तु, जडीबुटी, कृषि उत्पादन, हस्तकला, अटोमोबाइल्स र सूचना प्रविधिका नवीनतम सामग्रीलाई प्रदर्शनमार्फत बजारीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
Advertisement 2
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला र सूचना प्रविधिका ३५० भन्दा बढी स्टल राखिनेछ। थारू संस्कृति झल्कने विशेष प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, र रोजगारसम्बन्धी जानकारी प्रदान गरिने आयोजक सङ्घका अध्यक्ष टंक बहादुर धामीले जानकारी दिएका छन्।
Advertisement 3

कोरोना महामारी र आर्थिक मन्दीबाट प्रभावित पश्चिम नेपालका उद्योगी तथा व्यवसायीहरूलाई एउटै थलोमा राखेर महोत्सवले नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन र व्यावसायिक गतिविधिलाई प्रोत्साहित गर्न महोत्सव महत्वपूर्ण हुने अध्यक्ष धामीले बताए।
महोत्सवका मुख्य आकर्षणमा थारू संस्कृति झल्काउने प्रस्तुति, स्थानीय जातीय नृत्य र व्यावसायिक उद्यमशालाको प्रदर्शन रहनेछ। महोत्सवले नेपालगञ्ज क्षेत्रको सांस्कृतिक तथा व्यावसायिक विविधतालाई उजागर गर्दै क्षेत्रीय विकास, पर्यटन प्रवद्र्धन, रोजगार सिर्जना र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ।
आयोजकहरूले सम्पूर्ण नागरिक, उद्योगी, व्यवसायी र राजनीतिक दललाई महोत्सवमा सहभागिता जनाउन अपिल गरेका छन्।











