नेपालगन्ज, वैशाख १३ : नेपालगन्जस्थित भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आज बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी र ओपिडी भवन लगायतका संरचनामा ठूलो क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ।
Advertisement 1
अस्पतालका अनुसार आगलागीका कारण तत्काल अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सुचारु गर्न सकिने अवस्था नरहेकाले वैशाख १४ र १५ गते ओपिडी सेवा र ल्याब सेवा बन्द रहनेछ।
Advertisement 2
आज बिहान करिब साढे १० बजे मेडिकल स्टोरमा अचानक आगो लागेपछि अस्पताल परिसरमा त्रास फैलिएको थियो। प्रारम्भिक अनुमान अनुसार भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको छ। यद्यपि, आगलागीको वास्तविक कारण भने अनुसन्धान भइरहेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए।
Advertisement 3
दमकल, सशस्त्र प्रहरी बल र अस्पतालका कर्मचारीहरूको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो। शनिवार बिदाको दिन भएकाले आगलागी भएको समयमा त्यहाँ बिरामी र धेरै कर्मचारीहरू नभएकाले मानवीय क्षति भने हुन पाएन।
डा. सुवेदीका अनुसार आगलागीबाट रिएजेन्ट, औषधी, उपकरण लगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीको कारण र विस्तृत क्षतिको विवरण संकलन गर्न अस्पताल प्रशासनले अध्ययन अघि बढाएको छ।
तस्बिर: शमिरमान श्रेष्ठ












प्रतिक्रिया