नेपालगञ्ज । पुस महिना सुरु भएसँगै बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बनेको हो । नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोको असर स्पष्ट देखिएको छ ।
Advertisement 1

बिहानैदेखि कुहिरो र हुस्सु लागेपछि चिसो बढेको स्थानीयले बताएका छन् । चिसोका कारण बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधनको आवागमन पनि कम भएको छ । बिहानै खुल्ने पसल र बजार ढिलो गरी खुल्न थालेका छन् भने साँझपख चिसो झनै बढेपछि बजार क्षेत्र चाँडै सुनसान हुन थालेको छ ।
Advertisement 2

नेपालगञ्जका स्थानीय रामसुहावन यादवका अनुसार बिहानैदेखिको बाक्लो हुस्सुले अत्यधिक चिसो बढाएको छ । “निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन,” उनले भने ।
Advertisement 3

अत्यधिक चिसोले दैनिक ज्यालादारी काम गर्ने मजदुरहरू बढी मारमा परेका छन् । डुडुवा गाउँपालिका–४ का मजदुर रामदिन गोडियाले काममा जान नपाउँदा परिवार चलाउन समस्या भएको बताए । “काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या झनै बढ्छ,” उनले भने । अर्का मजदुर बालकराम गोडियाका अनुसार दिनभरि घाम नलाग्दा काममा जान सक्ने अवस्था छैन ।
चिसोबाट जोगिन स्थानीयवासीले आगो बालेर ताप्ने गरेका छन् । तर चिसोका कारण बिहान आवतजावत गर्ने विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

चिसो बढेसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामीको संख्या पनि बढेको छ । भेरी अस्पतालका फिजिसियन तथा सूचना अधिकारी डा. संकेत रिसालका अनुसार हाल अस्पतालमा आउने बिरामीमध्ये करिब आधा जति चिसोका कारण स्वास्थ्य समस्या लिएर आउने गरेका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा मुटु, मिर्गौला, फोक्सो, मधुमेहजस्ता दीर्घरोगी बढी प्रभावित छन् ।
जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार नेपालगञ्जमा न्यूनतम तापक्रम ८ देखि ९ डिग्री सेल्सियससम्म झरेको छ । मंगलबार बाँकेमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान र साँझ शीतलहरसँगै कुहिरो लागे पनि केही दिन दिउँसो मधुरो घाम देखिने गरेको छ ।
चिसो बढेसँगै न्याना कपडाका पसल तथा सडकपेटीका लुगा पसलमा ग्राहकको भीड बढेको छ । सवारी चालकहरूलाई पनि बाक्लो हुस्सुका कारण समस्या भएको छ । नेपालगञ्ज–१६ का सवारी चालक रामप्रसाद थारुले हुस्सुका कारण दुर्घटनाको जोखिम बढेको बताए । “कम गतिमा बत्ती बालेर सावधानीपूर्वक सवारी चलाउनुपरेको छ,” उनले भने ।
बाक्लो हुस्सुका कारण हवाई सेवा पनि प्रभावित भएको छ । दुई दिनदेखि राँझा विमानस्थलबाट बिहान हुने उडानहरू प्रभावित भएका छन् । नेपाल नागरिक उड्डयन कार्यालय बाँकेका अनुसार भिजिबिलिटी कम हुँदा बिहानका उडान सरेका छन् भने दिउँसोको समयमा हवाई सेवा नियमित रहेको छ । राँझा विमानस्थलमा उडान र अवतरणका लागि कम्तीमा एक हजार ६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने जनाइएको छ ।

चिसो बढ्दै गएपछि स्थानीयले प्रशासनसँग सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाउन माग गरेका छन् ।










प्रतिक्रिया