नेपालगञ्ज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने हुन्छ।
Advertisement 1
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथिको श्राद्धमा पिण्डदान अपराह्नपछि गर्नुपर्ने शास्त्रीय विधान छ।
Advertisement 2
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान तथा पिण्डदान गरी सम्मान गरिने भएकाले यस अवधिलाई ‘सोह्र श्राद्ध’ भनिएको हो। यसलाई पितृ पक्ष, अपर पक्ष तथा प्रेत पक्षका नामले समेत चिनिन्छ।
Advertisement 3
वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयागादि तथा ठूला धार्मिक कार्य गर्नुअघि दिवंगत पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। पितृ पक्षमा पितृले आफ्ना सन्तानबाट तर्पण, श्राद्ध तथा पिण्डदानको अपेक्षा गर्ने धार्मिक मान्यता रहेको छ।
धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुने तथा पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। उनका अनुसार सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेको छ।
जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध नछोड्नुपर्ने धर्मशास्त्रीय मान्यता रहेको गौतमले बताएका छन्।
रोकिएको श्राद्धका लागि पनि छन् विकल्प
कुनै कारणवश आफ्नो पिताको तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रमा विभिन्न वैकल्पिक व्यवस्था गरिएको धर्मशास्त्रविद्हरू बताउँछन्।
आपत्कालीन अवस्थामा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म श्राद्ध गर्न सकिने व्यवस्था रहेको बताइएको छ। त्यस अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने उल्लेख धर्मसिन्धु लगायतका शास्त्रीय ग्रन्थमा गरिएको छ।
कार्तिक कृष्ण औँसीमा समेत गर्न नसकिएमा वृश्चिक सङ्क्रान्तिसम्म अर्थात् मङ्सिर महिनासम्म उपयुक्त दिन पारेर श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको बताइएको छ।
त्यसैगरी आश्विन शुक्ल पञ्चमीपछि पर्ने अष्टमी, द्वादशी र औँसीका दिन तथा भरणी नक्षत्र र व्यतीपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायतका ग्रन्थमा उल्लेख रहेको प्रा. डा. भट्टराईले जानकारी दिएका छन्।
यी सबै अवसरमा पनि श्राद्ध गर्न नसकिएमा आफूले वा असमर्थ भए ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने विकल्प रहेको बताइएको छ। यस्तो विधि १० महिनासम्म विधिपूर्वक गर्नुपर्ने र यसबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ।
श्राद्ध अपराह्नमै गर्नुपर्नेमा जोड
धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध पिताको तिथिका दिन अपराह्नकालमा गर्नुपर्ने बताएका छन्। कतिपय पुरोहितले आफ्नो अनुकूल बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको जानकारी आए पनि बिहानको समयमा श्राद्ध गर्नु शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँजस्ता ठूला चाडपर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने धार्मिक कर्म गर्ने वैदिक सनातनी परम्परा रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।
यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्ध तथा बडादसैँ पर्व अघिल्ला वर्षको तुलनामा केही पछि सरेको हो।






