नेपालगञ्ज, बाँके — बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका अब हुलाकी सडक निर्माणपछि क्रमशः सुगम बन्दै गएको छ। राप्ती नदीपारिको यो गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटरको हुलाकी सडक सञ्चालनमा आएपछि यहाँको जनजीवनमा उल्लेखनीय परिवर्तन देखिएको छ।

 

नरैनापुर गाउँपालिका–४ निवासी ताजमोहम्मद खानका अनुसार सडक निर्माणअघि नेपालगञ्ज पुग्न भारतको बाटो हुँदै घुमेर जानुपर्थ्यो। “अहिले त आधा घण्टामै नेपालगञ्ज पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनदायिनी बनेको छ।”

 

हाल नेपालगञ्जदेखि नरैनापुरको सीमावर्ती क्षेत्र सुईया बघौडासम्म दैनिक चारवटा सार्वजनिक यात्रुवाहक बस सञ्चालनमा छन्। यसले यहाँको स्वास्थ्य, शिक्षा र अन्य सेवामा सहजता ल्याएको नरैनापुर–६ का अगुवा सोहनलाल यादवले बताए। उनका अनुसार पहिले भारतीय बजारमा निर्भर रहनुपरेको नरैनापुर अहिले आफ्नै सदरमुकामसँग प्रत्यक्ष जोडिएको छ।

 

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार हुलाकी सडक बनेसँगै नरैनापुरका बासिन्दाको जीवनशैलीमा आमूल परिवर्तन आएको छ। उनले गाउँपालिकाका सबै ६ वटै वडाका बस्तीहरूमा सडक विस्तारलाई प्राथमिकतामा राखेको जानकारी दिए।

 

सडक निर्माण प्रक्रिया करिब २३ वर्षअघि सुरु भए पनि विभिन्न अवरोध र ढिलासुस्तीले गर्दा हालमात्र पूर्णरूपमा सम्पन्न भएको हो। बाँके क्षेत्र नं. १ का सङ्घीय सांसद सूर्य ढकालका अनुसार सडक निर्माण सम्पन्न गर्न उनले आवश्यक समन्वय तथा पहल गर्दै आएका थिए। “हुलाकी सडकले नरैनापुरवासीलाई विकासको अनुभूति गराएको छ,” सांसद ढकालले बताए।

 

नरैनापुरमा सडक सुविधा पुगेपछि अब गाउँपालिकाले भित्री गाउँसम्मको पहुँच मार्ग निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता स्थानीयहरूले औंल्याएका छन्।

Leave a Reply

error: Content is protected !!