अछाम : अछामको जयगढ बजारमा ग्यास सिलिन्डर विस्फोट भई भीषण आगलागी भएको छ। मंगलबार साँझ ७:२० बजे स्थानीय पुष्पराज शर्माको आइएमई पसलमा खाना पकाउने क्रममा सिलिन्डर विस्फोट हुँदा आगलागी सुरु भएको हो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगलागीबाट कालु सुनार र किस्मत सुनाको सुनचाँदी पसल, रतन साउदको घर, हिमाल साउदको मोबाइल पसल, रति साउदको भाडा पसल तथा रामबहादुर रावत, मञ्जु साउद र रगोकुल साउदका किराना पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि मंगलसेन नगरपालिकाबाट दमकल घटनास्थलमा पुगे पनि बजारभित्र प्रवेश गर्न नसक्दा आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। स्थानीय तारामान खड्काका अनुसार, बजार भित्र सवारी प्रवेश गर्न नसकेपछि जेसिबीको सहयोगमा घर भत्काउने काम भइरहेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। यस घटनाले जयगढ बजारमा त्रासको वातावरण सिर्जना गरेको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण र कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। Post navigation राजा खान नेपालगञ्जको मनकारी समाजसेवी र खेलकुदप्रेमी उद्यमीको प्रेरणादायी कथा भारतीय अवैध कुखुराको तस्करी बढ्दो, शिवपुरीबाट एक क्विन्टल बरामद