जनता मा.वि. पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा सम्पन्न

 

माघ २६, २०८१ बाँके : श्री जनता माध्यमिक विद्यालय, सन्तकुटी, खजुराको पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि, बाँके क्षेत्र नं. ३ का माननीय किशोर सिंह राठौरले उद्घाटन गर्दै पूर्व विद्यार्थी समाजले सञ्चालन गरेको यो अभियानले विद्यार्थीहरूलाई एकताबद्ध बनाएको बताए। उनले अनुशासनको महत्त्वलाई जोड दिँदै विदेशको मात्र कुरा नगरी स्वदेशमै केही गर्ने सोच विकास गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख डम्बर बिक (तुफान), नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाह, र खजुरा गाउँपालिका उपप्रमुख मञ्जु मल्लको उपस्थिति रहेको थियो।

 

गाउँपालिका प्रमुख डम्बर बिक (तुफान) ले विगत, वर्तमान र भविष्यका आधारमा विकासलाई हेर्न सकिने बताउँदै पूर्व विद्यार्थी समाजले सकारात्मक काम गरिरहेकोमा खुसी व्यक्त गरे। साथै, समाजसँग सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले समाजको आधिकारिक वेबसाइट www.purbavidyarthi.com को शुभारम्भ गरे।

 

उपप्रमुख मञ्जु मल्लले पूर्व विद्यार्थी समाजको गतिविधि उदाहरणीय रहेको बताउँदै गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नरैनापुर गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले आफूले पालिकामा रातदिन परिश्रम गरी विजुली र सडक पु¥याएको उल्लेख गर्दै, देश विकासका लागि काम गर्ने मानसिकता आवश्यक रहेको बताए। उनले विद्यालयलाई आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए।

नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाले समाजको कार्यको प्रशंसा गर्दै आफ्नो निरन्तर समर्थन रहने बताए।

पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू हरिप्रसाद ढुङ्गाना, भानुभक्त रिजाल, शैलेन्द्र खत्री, सीता सर्वुचा, र कान्तुराम गौतमलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरियो। सम्मानित व्यक्तिहरूको तर्फबाट भानुभक्त रिजालले विगतका अनुभव र विद्यालय विकासका पहलहरूबारे जानकारी गराए।

 

साथै, पूर्व विद्यार्थी समाजले क्लिन नेपालगंज–ग्रीन नेपालगंज का प्रमुख डा. विनोद कर्ण, प्रादेशिक रक्तसञ्चार केन्द्र का प्रमुख उपेन्द्र रेग्मी, र नेपाल–ब्रिटेन कान सामुदायिक सेवा केन्द्र का प्रमुख रामबहादुर बोहरालाई समाजको तेस्रो स्थापना दिवसको अवसरमा सम्मान गर्यो।

 

विद्यालयबाट २०३३ सालमा एसएलसी उर्त्तीण भएका पूर्व विद्यार्थी भद्र प्रसाद देवकोटा र घनश्याम शर्मा निरौलालाई पनि सम्मान गर्यो ।

 

विद्यार्थी सम्मान तर्फ विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कृत गर्दै शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने दशरथ चमार ,सातौं पालिका स्तरीय मेयर कप प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने अर्जुन विक लाई नगद एक-एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्यो।

 

समाजका अध्यक्ष झविलाल शर्माले समाजले आर्थिक समस्याका कारण पढ्न नसक्ने विद्यार्थीहरूलाई सहयोग गर्ने बताए। साथै, आगामी अधिवेशनमा विद्यालयका लागि नयाँ बस उपहार दिने घोषणा गरे। सोही अवसरमा बस खरिदका लागि ४ लाखभन्दा बढी सहयोग रकम संकलन भएको जानकारी दिनुभयो।

 

समाजका सचिव विवेक लामिछानेले आर्थिक वर्ष २०८०/८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०८२/८३ का प्रस्तावित कार्यक्रमबारे जानकारी गराए। कोषाध्यक्ष रत्ना कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

 

कार्यक्रममा समाजका उपाध्यक्ष ऋचालक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य दिएकी थिइन् भने समाजका सदस्य सचिव टंकनाथ दाहालले समाजको स्थापना र आवश्यकताबारे बोलेका थिए। आजीवन सदस्यहरूको तर्फबाट राम प्रसाद न्यौपानेले विचार व्यक्त गरे।

 

कार्यक्रमको सुरुवातमा पूर्व विद्यार्थी विनोद लम्सालकी छोरी बिवानी लम्सालले श्र्लोक वाचन गरेकी थिइन्। सहसचिव सुजाता खरेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। साथै, विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

 

पूर्व विद्यार्थी समाजको यो पहल विद्यालय र विद्यार्थीहरूको हितमा निकै महत्त्वपूर्ण रहेको कार्यक्रमका सहभागीहरूले बताएका छन्। समाजले विद्यालयको समग्र विकासमा योगदान दिइरहेको भन्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

 

error: Content is protected !!