सन्देश भुसाल, नेपालगञ्ज: बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहमा शुक्रवार राति बालबन्दीहरूबीच भएको झडपको घटनाले उग्र रूप लिँदा प्रहरी हस्तक्षेप गर्न बाध्य भएको छ। घटनामा ६ जना बालबन्दी घाइते भएका छन्, जसको हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
Advertisement 1
घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा सुधारगृह पुगेको थियो। तर, बालबन्दीहरूले छतबाट ढुंगा प्रहार गरी प्रहरीलाई प्रवेश गर्न दिएनन्। दोस्रो तल्लामा आगजनी समेत गरिएकाले सुधारगृहमा क्षति पुगेको प्रहरीले जनाएको छ।
Advertisement 2
यस क्रममा आगो निभाउन गएका दमकलहरूलाई पनि भित्र पस्न अवरोध गरिएको थियो। पटक–पटक वार्ताका लागि प्रयास गर्दा समेत सुनुवाइ नभएपछि प्रहरीले बल प्रयोग गरी सुधारगृहमा प्रवेश गरेर अवस्था नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए।
Advertisement 3
झडप नियन्त्रणका क्रममा केही प्रहरी पनि घाइते भएका छन्। अहिले ५० भन्दा बढी बालबन्दी प्रहरी नियन्त्रणमा छन् भने केही फरार रहेकोले खोजी कार्य जारी रहेको छ।
२५० बालबन्दी रहेको यस सुधारगृहमा पटक–पटक झडप हुने गरेको प्रहरीले जनाएको छ। लामो प्रयासपछि अहिले सुधारगृहको अवस्था प्रहरी नियन्त्रणमा रहेको बाँके प्रहरी कार्यालयले जनाएको छ।










प्रतिक्रिया