सक्किगोनि’ तेस्रो सिजन विश्राममा, चौथो सिजनको तयारी सुरू

सन्देश भुसाल, नेपालगञ्ज : लोकप्रिय नेपाली हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन ९३ एपिसोड प्रसारण भइसकेपछि विश्राममा गएको छ। सक्किगोनी टिमले यस अघि सिजन १ मा २७ भाग, सिजन २ मा ३३ भाग, सिजन ३ मा ९३ भाग प्रसारण गरेको छ । सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाडे) र कुमार कट्टेल (जिग्री) ले चौथो सिजनलाई अझ परिष्कृत र उत्कृष्ट बनाउन केही समयको ब्रेक लिइएको जानकारी दिएका छन्।

 

‘सक्किगोनि’ का निर्माता टोलीले चौथो सिजनको तयारी सुरू भइसकेको बताएको छ। नयाँ सिजनमा समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र र विविध सांस्कृतिक पक्षहरू समेटिनेछन्। सिरियललाई थप आकर्षक बनाउन दर्शकहरूको सुझावलाई समेत प्राथमिकता दिइने जनाइएको छ।

 

सिरियलमा अर्जुन घिमिरे (पाडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरि निरौला (कोक्रोच), कमलमणि नेपाल (खुपीका बाउ), गोविन्द कोईराला (जयन्ते), मधुसूदन पाठक (साइट बा), रक्षा श्रेष्ठ (रक्षा), प्रीयना आचार्य (मुनि), दीपक आचार्य (काकु), बबिन राई (गाल्फाने), रश्मी पाण्डे (माकुरी) लगायत अन्य चर्चित कलाकारहरूको सहभागिता रहेको थियो ‌।

 

निर्माण टिमले दर्शकहरूलाई निरन्तर साथ र माया दिएकोमा धन्यवाद व्यक्त गर्दै चौथो सिजनलाई अझ उत्कृष्ट बनाउन नयाँ कथावस्तु, सामाजिक सन्देश र मनोरञ्जनात्मक पक्षहरूमा सुझाव दिन आग्रह गरेको छ। सिरियलले नेपाली ग्रामीण जीवनशैलीलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सक्किगोनी सिरियल हिमालय टेलिभिजनमा हरेक बिहीबार साँझ ८ बजे र EH Digital YouTube Channel मा  हरेक बिहीबार ९ बजे प्रसारण हुन्थियो।

 

हालसम्म ‘सक्किगोनि’ चौथो सिजन कहिलेदेखि प्रसारण हुन्छ भन्ने निश्चित मिति तय गरिएको छैन। तर, निर्माण टिमले चाँडै दर्शकमाझ नयाँ सिजन ल्याउने जानकारी गराएको छ।

error: Content is protected !!