नेपालगन्ज । पश्चिम क्षेत्रको प्रमुख रेफरल स्वास्थ्य संस्था भेरी अस्पतालको आईसीयू (आइसोलेसन केयर युनिट) पूर्ण क्षमतामा सञ्चालन गर्न नेकपा एमालेले माग गरेको छ।
एमाले बाँके निर्वाचन क्षेत्र नं. २ ले बिरामीको चाप अत्यधिक बढिरहेको अवस्थामा अस्पतालको १५ शैयाको आईसीयू हाल १० शैयामा सीमित रहनु दुःखद भएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो।

एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नं. २ का इन्चार्ज पशुपतिदयाल मिश्रले पश्चिम नेपालका बिरामीहरूका लागि भेरी अस्पताल आशा र भरोसाको केन्द्र भएकाले आईसीयू पूर्ण क्षमतामा सञ्चालन गरिनु अनिवार्य भएको बताए। उनले भने, “आईसीयू अपूरो क्षमतामा सञ्चालन हुँदा बिरामीहरूलाई गम्भीर समस्या भइरहेको छ। यसलाई शीघ्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।”
उनका अनुसार के कारणले आईसीयू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेन भन्ने विषयमा अस्पताल प्रशासनसँग जवाफ मागिनेछ। साथै, समस्याको समाधानका लागि केन्द्रीय निकायसँग पहल गरिनेछ।
यसका लागि पशुपतिदयाल मिश्रको संयोजकत्वमा भाष्कर काफ्ले, मोहित शाह, सरोज चौधरी, कृष्णा पाठक, अनिता थापा, र कमल डाँगी सदस्य रहने गरी एक समिति गठन गरिएको छ। समितिले आईसीयू पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक कदम चाल्ने जनाएको छ।










