Listen LIVE

खजुरा (बाँके), असार १५: हिन्दु परम्परामा छोराले बाबुको शव काँधमा राखेर दाहसंस्कार गर्नु धर्म मानिन्छ। तर बाँकेको खजुरा–३ बीगाउँका ५० वर्षीय अर्जुन उपाध्यायका लागि यो धर्म निभाउनु सजिलो थिएन। कारण—उनले दलित समुदायकी शिला विकसँग अन्तरजातीय विवाह गरेका थिए।

Advertisement 1

 

पछिल्ला १८ दिन अर्जुनका लागि जीवनकै सबैभन्दा पीडादायी भए। जब बाबुको अन्त्येष्टिका लागि काँध हाल्न अघि बढे, उनलाई परिवार र समाजले रोक्न खोज्यो। तर आँसुका साथ जबरजस्ती काँधमा राख्दै उनले बाबुलाई विदाइ गरे। शव जलिसकेपछि परिवारले उनलाई काजकिरिया गर्नसमेत दिएन। उनका दुई भाइले छुट्टै किरिया गरे भने अर्जुन आफ्नै घरमा एक्लै बसे।

Advertisement 2

 

अर्जुन भन्छन्, “मैले के अपराध गरे? एउटा दलित महिलासँग प्रेम गरेर बिहे गर्नु अपराध हो? कि उनले मलाई साथ दिएकी थिइन्, त्यो अपराध हो?”

Advertisement 3

 

उनकी श्रीमती शिला विक पनि पीडामा छन्। शारीरिक भन्दा बढी मानसिक थकान झल्किने उनको अनुहारमा समाजको विभेदपूर्ण व्यवहारको चोट स्पष्ट देखिन्थ्यो। उनी भन्छिन्, “हामीले प्रेम गर्यौं, तर समाजले हाम्रो नामपछि जात जोडेर हामीलाई बाँच्नै नसक्ने बनायो।”

 

शव दाहसंस्कार पछि छिमेकी, आफन्त, समाज कोही अर्जुनकहाँ ‘बसी लाग्न’ आएनन्। माइलो दाजु डिल्ली र कान्छो भाइ नारायणबाट भने सहयोग र समझदारी भएको अर्जुन बताउँछन्। तर कान्छी आमाका छोराबाट भने तिरस्कार भएको अनुभव गर्छन्।

 

दोस्रो विवाह टुटेपछि अर्जुनले शिलालाई भारतको केरला पुगेर ल्याएका थिए। जीवनका कठिन मोडहरू पार गरेका उनीहरूका लागि अब प्रेमको कारण समाजले बहिष्कार गरेको छ।

 

यता, अर्जुनका भाइ प्रेम उपाध्याय भने विभेदको आरोप अस्वीकार गर्छन्। उनी भन्छन्, “हामीले जातीय कारणले होइन, धार्मिक प्रक्रिया सहज होस् भनेर अलग किरिया गरेका हौं। बाबाले पनि केही कुरा भन्नुभएको थियो।” उनले अर्जुन अहिले बाबुको सम्पत्तिमा बसेको उल्लेख गर्दै विभेदको आरोपलाई खारेज गरे।

 

तर दलित अधिकारकर्मी टीका विकले घटनालाई गम्भीर सामाजिक अपराध मानेकी छन्। “शव छुन रोक्नु, संयुक्त किरियाबाट छुट्याउनु, सामाजिक बहिष्कार गर्नु — सबै दण्डनीय अपराध हुन्,” उनले भनिन्।

 

उनका अनुसार, यस्तो व्यवहारले जातीय छुवाछुतलाई बढावा दिन्छ र कानुनी प्रक्रिया नअँगाल्दा समस्या अझ गहिरिन्छ। “जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८” अनुसार यस्तो अपराधमा तीन वर्ष कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।

 

अर्जुन र शिलाको कथाले नेपाली समाजको कडा यथार्थ उजागर गर्छ—जहाँ प्रेम, निष्ठा र धर्मभन्दा जात बलियो ठानिन्छ। मृत्युसम्म पनि विभेद नछोड्ने यो समाजमा मानवता कहिले आउला?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!