नेपालगन्ज पोष्ट : बाँकेको नेपालगञ्ज मा ‘नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ आयोजना हुने भएको छ। होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल (HAN) बाँकेको संयुक्त आयोजनामा आगामी २०८३ साल वैशाख ११ देखि १३ गतेसम्म फेस्टिभल सञ्चालन गरिने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
फेस्टिभल सुशिल कोइराला स्मृति गेट देखि पश्चिमतर्फ वाटरपार्क क्षेत्रसम्म आयोजना हुनेछ। तीन दिनसम्म चल्ने यस महोत्सवले स्थानीय खानाका परिकार, कला–संस्कृति र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा होटल संघ नेपाल (HAN) बाँकेका अध्यक्ष दिवाकर खनालले फेस्टिभलमार्फत स्थानीय परिकारको पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए। उनले गुणस्तरीय सेवा र उपभोक्ताको हितलाई ध्यानमा राख्दै कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।
त्यसैगरी होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले फेस्टिभलमा स्थानीय स्ट्रीट फुडदेखि परम्परागत तथा आधुनिक खानाका विविध स्टलहरू रहने जानकारी दिए। साथै लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिने उनले बताए।
उनका अनुसार फेस्टिभलले छिमेकी भारत बाट आउने पर्यटकलाई आकर्षित गर्ने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने र नेपालगञ्जलाई ‘फुड डेस्टिनेशन’का रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार महोत्सव सफल बनाउन २ सय ५१ सदस्यीय मूल समिति र १७ वटा उपसमिति गठन गरिएको छ। फेस्टिभलले स्थानीय आर्थिक गतिविधि वृद्धि, रोजगारी सिर्जना तथा उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।













